लैङ्गिक समानताका लागी पुथा उत्तरगंगाका पुरुषहरुको अन्तरपुस्तिय एक्यबद्धता

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा परम्परागत हानिकारक अभ्यास बालविवाह, छोट्टी प्रथा, लैङ्गिक हिंसा र लैङ्गिक विभेद विरुद्धको अभियानमा पुरुषहरुको संलग्नता वृद्धि गर्न पुरुषत्व र अन्तरपुस्ता संवादसम्बन्धी तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। युनाइटेड मिशन टु नेपाल (युएमएन) रुकुम पुर्व क्लष्टर र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को साझेदारीमा पुथा उत्तरगंगा गाउँपालिकासँगको समन्वयमा कार्यन्वयन भइरहेको “सक्षम २” परियोजनाको आयोजनामा अभिमुखीकरण तालिम भएको हो । २०८१ चैत २० देखि २२ गतेसम्म आयोजित अभिमुखिकरण तालिममा पुथा उत्तरगङ्गा गाउँपालिकाका ९ वडाका किशोर समूह सदस्यहरू र पुरुष जनप्रतिनिधिहरू गरी २२ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण हामी दाजुभाई समुहका अध्यक्ष संजोग ठकुरीले गर्नुभएको थियो । तालिमको मुख्य उद्देश्य समाजमा जरा गाडेको लैङ्गिक असमानताको चक्र तोड्न, असल पुरुषत्व प्रर्वद्धन गर्न तथा परम्परागत हानिकारक अभ्यासहरू विरुद्ध वकालत गर्न अन्तरपुस्तिय साझेदारी तथा पुरुषहरुको संलग्नता बढाउने हो। अभिमुखिमरण तालिममा लैङ्गिकता, पुरुषत्वको परिभाषा, असल र खराब पुरुषत्व, सामाजिक संरचना, परम्परागत हानिकारक अभ्यासहरूको प्रभाव, स्वस्थ्य सम्बन्ध , पुरुषत्व र संस्कृतिको पुन परिभाषा जस्ता विषयमा गहन छलफल गरिएको थियो । सहभागीहरूले समूहमा छलफल, प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक अभ्यासहरू मार्फत आफ्ना दृष्टिकोणहरू साझा गर्दै पुरुषहरू पनि विभिन्न प्रकारका लैङ्गिक पूर्वाग्रहको शिकार भइरहेका छन् भन्ने निष्कर्ष निकालेका थिए । विषात्त पुरुषत्वले महिलालाई भन्दा पुरुषलाई नै धेरै असर गरिरहेको भन्दै उनीहरुले लैङ्गिक सम्मानता अवधारणाले महिलालाई मात्र हैन पुरुषहरुलाई पनि उत्तिकै फाइदा पु¥याउने कुरामा सहभागीहरु सचेत भएको सक्षम परियोजना संयोजक श्री कुमार बिएमले बताउनुभयो ।